जिजीविषा
गरिवी र संघर्षको चिसो सिरेटो
आज पाखा लागेको छ
न्यानो मौसमको नुतन हावा
श्ाुरु भएको छ
निराशाहरु विस्थापित हुंदै
आशाले आंकुरा हाल्न थालेको छ
त्यसैले त
जिजीविषा उम्दो छ ।
जीन्दगीको फराकिलो बगैंचा
रंगीचंगी फूलमय हुदैछ
खडेरी नै खडेरी
यसमा पर्ने छैन
सदाबहार हरियाली छाउने छ
चिन्ता र कुण्ठाको गुजुल्टो रहने छैन
हांसो र खुसीको सहवास हुनेछ
त्यसैले त
जिजीविषा उम्दो छ ।
अन्धकारलाई चांदले जितेको छ
स्वार्थलाई भरोसाले उछिनेको छ
आलीसान महलहरुलाई
झुपडीले चुनौति दिएको छ
संघर्षरत जीवन धन्य छ
लक्ष प्राप्तिले प्रफुल्ल छ
पुूल झैं हलुका
सगरमाथा झैं गौरवशाली
त्यसैले त
जिजीविषा उम्दो छ ।
बेतालको तान्डवलाई
सभ्यताको नृत्यले उछिनेको छ
बेमौसमी बाजाहरु
संग्रहालयमा जाने तरखरमा छन्
पराजित मानसिकताहरुलाई
सान्त्वनाको रुवा मिलेको छ
ध्वंश र िहंसालाई
शान्तिले माथ गरेको छ
त्यसैले त
जिजीविषा उम्दो छ ।
पागल बस्तीहरु
सज्जन तनमनका साथ जागेका छन्
निर्जन गाउंहरुमा
गाउलेहरु भरिन थालेका छन्
विधवा महिलाहरु आशावान छन्
नियाल्ने दुरबीन बदलिएकोले होला
त्यसैले त
जिजीविषा उम्दो छ ।
टुहुरा नानीहरुको
नाङ्गो शरिर बस्त्रमय हुन थालेको छ
पानी विनाका काकाकुलहरु
शीतल पानीको स्वाद पाउन थालेका छन्
काग मात्र होईन
आज
कोइली बढी गाउन थालेकी छन्
त्यसैले त
जिजीविषा उम्दो छ ।
परम्परागत अन्धविश्वासलाई
नवीनताले गांजेको छ
रुढीवाद इतिहास बनेको छ
प्रविधिले जरा गाडेको छ
चन्द्रमा नजिकै भएको बेला
सगरमाथा मुसक्क हांसेको छ
पृथ्वी सांगुरो भएको छ
सानो आधुनिक गाउं झैं
त्यसैले त
जिजीविषा उम्दो छ ।
दानव प्रबृत्ति क्षयीकृत हुदा
मानवीय प्रबृत्ति हावी भएको छ
बहुलट्ठीपनलाई
बौद्धिकताले चीत् खुआएको छ
संघर्षको परिणाम ओजस्वी छ
भाइचाराको खात बढेको छ
शान्ति अज्माउनेहरु
तांती लागेका छन् ठाउंमा
त्यसैले त
जिजीविषा उम्दो छ ।
जिजीविषा मरेको छैन ॥
05/11/2009
Recent Comments