प्रकृतिको अनुपम त्रिवेणी रावा तावा साप्सु सावाहरुलाई नसाको रुपमा उपयोग गर्दै पूर्वमा आफ्नो छाति लमतन्न पारेर सोलुखुम्बु भोजपुर र उदयपुरको बीचमा विराजमान खोटाङ्ग जिल्लाको टारीगाउं हौंचुर गा।वि।स। वडा नं। ४ राईसिङ्गेको प्रदुषणमुक्त वस्तीमा आमाको ममतामयी कोखलाई दश महिनासम्मको बोझ हलुका गराई बसाईं सरी काखमा लुटुपुटु हुदै विश्व मानववस्तीमा एउटा संख्या बढाउन अवतरित म आफ्नो पारिवारिक वातावरणलाई तत्कालीन परिवेशमा स्वर्णिम वातावरण ठान्दछु । मेरो पिता आदरणीय लाल बहादुर खड्का र माता सर्वश्रद्धेय यशोदा देवी खड्काको शिक्षाप्रतिको मोहका कारण मैले वाल्यकालदेखि नै शिक्षाको उज्यालो घामबाट बिाचत हुनु परेन । मेरो पिता जो गाउंकै पहिलो शिक्षित व्यक्तिको रुपमा आई।ए। सम्मको शिक्षा हासिल गरेको व्यक्ति हुनुहुन्थ्यो । माता पनि अशिक्षित नै भने हुनुहुन्नथ्यो । यसैले गर्दा मेरो जीवनमा शिक्षाको आंकुरा पलाउन थालेको थियो । यसो भनेर साहित्य लेखनका लागि शिक्षित नै हुनु पर्दछ भन्ने जिकीर भने अवश्य होइन ।
वाल्यकालमा गाउंबेंसी गर्दै आमा-बाबुको लाडप्यारमा विताएको म स्वाभावैले भावुक प्रकृतिको मान्छे भएकोले होला माध्यमिक शिक्षा अध्ययनकै समयमा मैले केही कविता र गीतहरु लेखेको थिएं । कविताहरु त लेखें मैले तर सायद तिनमा कुनै वान्की मिलेको थिएन होला ढंग पुगेको थिएन होला भांती पुगेको थिएन होला । यी यावत कुराको पर्वाह मैले कहिल्यै गर्ने गरेको छैन । मैले गाउंबाट दोश्रो बसाईं सर्नु अघि लेखेका केही गीत र कविताहरुलाई सम्हालेर गाउंमै राखेको छु । तिनमा भाव लय प्रकृति स्वरुप व्याजना आदि नमिलेको होला तर पछि नै हेरौंला ती वालमनका अभिव्यक्तिहरुलाई । यस वीचमा मैले कान्तिपुरी नगरीमा बसेर साहित्यकै विषयमा अंग्रेजी विषयमा स्नातकोत्तर उत्तीर्ण पनि गरें तर निरन्तर लगाव र अभ्यासको कमी खड्किई नै रह्यो । यसैले गर्दा मेरो साहित्यिक कलमको नीव झन भुत्ते हुदै गयो । साहित्यलाई मैले कुनै अर्थमा पनि जीवनको अभिन्न अंग बनाई उपयोग गर्न सकिन । त्यस बीचका घट्नाक्रमहरु निकै उतार चढावयुक्त रहेका हुनाले पनि त्यसो भएको हुन सक्दछ ।
मैले नेपाली साहित्यका धेरै सर्जकहरुको वारेमा पढेको छु तर वहांहरुको आदर्शलाई अपनाउन सकिन । त्यही ठानेर यतिबेला वयस्क मस्तिष्कका नसाहरुलाई अभ्यास गराउने जमर्को गर्न खोजेको मात्र हो । यो सार्थक नहुन पनि सक्दछ र हुन पनि सक्दछ । हाल म वयस्क नेपाली नागरिकको रुपमा सरकारी जागिरेको भै खोटाङ्गको नुनथला मुढेका डांडाहरु अनि ट्याम्के र सेल्मेहरुलाई ओझेलमा पारी काठमाडौंको चिसो सिरेटोलाई अस्थायी रुपमा विदा मागेर कर्तव्य पालनको सिलसिलामा कतारको मरुध्यानमा अवचरण गर्न आई पुगेको छु । मेरो कर्तव्य पालनको सिलसिलामा नेपाली बुद्धिजीवी पत्रकार राजनीतिज्ञ नागरिक समाज खेलाडी व्यवसायीहरु र ठूलो संख्यामा रहेका दुखी नेपाली श्रमिकहरुलाई अत्यावश्यकीय सेवा दिने त नुनको सोझो नै भै हाल्यो । यसबाट बचे खुचेको समयलाई ओझेलमा परेको मेरो साहित्यिक यात्राको पुनराबृत्ति गर्ने र वामे सार्ने ध्येयका साथ म अगाडि बढ्न प्रयासरत छु ।
जीन्दगीका उकाली र ओह्राली भाज्याङ अनि चौतारीहरुमा थाक्दै।-विसाउदै अभागी पुर्पुरोलाई समाउदै निराशावादलाई थांती राखी आशाको ज्योतिपुाज प्रज्वलित गर्दै अगाडि बढ्ने क्रममा मेरो जीवनको यस खण्डमा आएर फेरी एक पटक एक सहज परिस्थितिसंग जम्काभेट भएको छ । यस अवस्थामा सिर्जनाका फूलहरु फुलाउन र संरक्षण तथा सम्बद्र्धन गर्न कसैले तगारो हाल्न सक्दैन भन्ने मेरो विश्वास छ । यसै गरी मेरो कार्यालयीय व्यस्तताले त मेरो दृढ प्रतिज्ञाको अगाडि केही गर्नै सक्दैन किनकी यो मेरो नियन्त्रणको कुरा हो । जीन्दगीका करीव दुई बीस पुग्न तीन बर्ष बांकी रहेको संख्याका शिशिरहरु र खडेरीहरुसंग पौठेजारी खेल्दै कमजोर आवाज भएकाहरुको पक्षमा वकालत गर्न पाउनु आफ्नो अहोभाग्य ठान्ने मेरो सिर्जनसिल कलम वामे सर्ने र जाग्ने क्रममा छ । आफ्ना तीता मीठा अनुभूति भोगाई र अनुभवहरुको कठघराबाट उत्पन्न हुने साहित्यिक अभिव्यक्तिको ज्वारभाटालाई मैले रोक्न चाहेर पनि रोक्न सक्दिन । त्यसैको फलस्वरुप भूकम्प र आधी बेहरी सृजना गर्ने सृजनाका उपजहरु मैले अज्माउन नसकौला तर नेपाली साहित्यको महासागरमा सानो थोपा जम्मा गर्ने प्रयास अवश्य गर्नेछु ।
लामो समय खिया लागेर बसेको मेरो साहित्यिक दिमाग र कलम दुवैलाई उजिल्याउन र तीक्ष्ण बनाउन समय लाग्न सक्दछ तर यसो भनेर चयनका साथ निदाउने मेरो समय होईन यो । मेरो पृय अर्धाङ्गिनी बीना खड्काको उत्साहजनक सहयोग र मित्र रमेश इखालुको प्राविधिक सहायतामा नया प्रयास थालनी भएको छ । मेरो भुत्ते कलमको अभिव्यक्ति राष्ट्रिय साहित्यिक माहौलमा कुइरोको काग जस्तै हराउन सक्छ तथापि मेरो प्रयासलाई मैले निरन्तरता दिने प्रण गरेको छु । मनको कुरीकुरीलाई शान्त पार्नको लागि सिर्जनाको फूलवारीमा हराउने प्रयत्न गरेको छु । नया पन्थे डाक्टरले पहिला दुई चार वटा सर्जरीमा हात कमाए झैं व्यक्तिगत रुपमा प्रष्फुटन भएका भावनाहरुलाई अपरिपक्व लेखकको रुपमा सेरोफेरोको चौतारी मार्फत सार्वजनिक गर्ने झिनो प्रयास गरेको छु । यो नव प्रवेशीको नीव तिखार्ने कार्यमा पाठक महोदयहरुको मोती माणिक्य भन्दा अमूल्य बौद्धिक सुझाव तथा सल्लाहको हार्दिकताका साथ अपेक्षा गर्दछ ।
Recent Comments